काठमाडौं – दुई महिनादेखि रोकिएको
सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा ८ मंसिरदेखि सुचारु हुने भएको छ
। यातायात व्यवस्था विभागले नयाँ प्रावधानसहित लाइसेन्स परीक्षा सुरु गर्न
लागेको हो । 
सवारी तथा यातायात व्यवस्था नियमावली
संशोधन भएपछि असोजको पहिलो सातादेखि देशभर परीक्षा रोकिएको थियो । नयाँ
नियमावलीअनुसार सबै तयारी पूरा भएकाले परीक्षा सुचारु गर्न लागिएको विभागका
प्रवक्ता डा. टोकराज पाण्डेले बताए । ‘सफ्टवेयर अपडेट भएको छ,’ उनले भने,
‘अब देशभरि नै ८ गतेदेखि लाइसेन्सको लिखित र ट्रायल परीक्षा सुरु हुन्छ ।’
यसअघि विभागको सफ्टवेयरमा एकपटक ट्रायल
दिएपछि तीन महिनासम्म दिन नपाइने सिस्टम बनाइएको थियो । कसैले तीन महिना
नपुगी परीक्षा दिन गए सफ्टवेयरबाट थाहा हुन्थ्यो । संशोधित नियमावलीले
एकपटक लिखित परीक्षा उत्तीर्ण गरेपछि ९० दिनभित्र तीनपटकसम्म ट्रायल दिन
सकिनेछ । ९० दिनभित्र जुनसुकै तीन दिन ट्रायल परीक्षा दिन पाउने गरी
नियमावली संशोधन गरिएकाले सोहीअनुसार सफ्टवेयर अपडेट गरिएको छ ।
एकपटक असफल भएपछि तीन महिना कुर्नुपर्ने
प्रावधानले समस्या भएकाले संशोधन गरिएको हो । पछिल्लो समय ट्रायल परीक्षामा
आधाभन्दा धेरै अनुत्तीर्ण हुने गरेका छन् । नयाँ प्रावधानले
परीक्षार्थीलाई फाइदा हुनेछ । तर, लिखित परीक्षामा नै अनुत्तीर्ण भएको
खण्डमा भने अर्काे परीक्षा दिन तीन महिना नै कुर्नुपर्ने डा. पाण्डेले बताए
।
उपत्यकामा गाडी र मोटरसाइकलको ८ गतेबाट
सुरु हुने र उपत्यकाबाहिर पनि अञ्चल प्रहरी कार्यालयले केही दिनभित्रै
सूचना जारी गरी परीक्षा सञ्चालन गर्ने तयारी गरेका छन् । उपत्यकामा
मीनभवनमा मोटरसाइकल तथा भद्रकालीस्थित नेसनल ट्रेडिङको जग्गामा विभागले
गाडीको ट्रायल परीक्षा लिँदै आएको छ । विभागले गुर्जुधारामा आफ्नै ट्रायल
सेन्टर बनाउन लागेको छ । तीन महिनापछि सोही स्थानबाट ट्रायल परीक्षा
सञ्चालनको तयारी भइरहेको छ । ट्रायलका लागि गुर्जुधारामा संरचना निर्माणको
काम भइरहेको प्रवक्ता डा. पाण्डेले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ
।
Post a Comment