Daughter-in-law mother Sales: listening may also amazed

मोरङ बेलबारीकी गीता तामाङ, ५०, र काठमाडौँ, कपन बस्ने कल्पना परियार नातामा साख्खै सासू–बुहारी हुन् । तर, यसपटक मानव तस्करी र महिला बेचबिखनको अर्को साइनोमा यिनै सासू–बुहारी जोडिन आएका छन् ।
यो कथा तिनै गीताको हो, जो नयाँदिल्लीस्थित साउदी कूटनीतिज्ञको यौन शोषणको सिकार भइन् । २० वर्षदेखि श्रीमान्सँग ‘डिभोर्स’ लिएर कान्छी छोरी–ज्वाइँको शरणमा बस्दै आएकी सासूको विदेश जाने इच्छाबारे जेठी बुहारी कल्पनालाई पहिलेदेखि थाहा थियो । एउटा मौकामा सासू–बुहारी फोनवार्ता भएपछि गीता साथमा अलिकति ऋणपानको पैसा लिएर काठमाडौँ पुगिन् ।


“बूढाले छाडेपछि कति बेखर्ची बनेर छोरीको सहारामा बस्नु भन्ने मनमा लागेको थियो,” दिल्लीको नेपाली दूतावासमा भेटिएकी गीताले सुनाइन्, “त्यही भएर घरेलु काम गर्न सुरुमा ओमान जाने भनेकी थिएँ । अनि, बुहारीले कुरा मिलाइदिएर साउदी हिँडेकी म ।”
साउदी जाने भएपछि पासपोर्ट बनाउन, टिकट खर्च र मेडिकल परीक्षण भनेर बुहारीले केही पटकमा एक लाख रुपियाँजति लिएको पनि उनले सुनाइन् । बुहारी कल्पनासँगै काम गर्ने जीतभाइ परियारले काठमाडौँबाट दिल्ली चल्ने बसको टिकट किनिदिएपछि गीता ४ जेठमा दिल्ली आएकी थिइन् । उनलाई दिल्लीको पुरानो बस अड्डामा अनवर नामको केटा र मोरङ, उर्लाबारी घर बताउने कमला थापा लिन गएका रहेछन् । “उनीहरूले नै साउदी अरबका मजिद भन्ने व्यक्तिको घरमा काम लगाइदिएका हुन्, महिनाको एक हजार साउदी रियाल तलब दिने कुरा थियो,” गीताले सुनाइन्, “ती मजिद भन्ने त दिल्लीमा रहेको साउदी दूतावासका ठूला मान्छे पो रहेछन्, हिजोअस्ति मात्रै मलाई बल्ल थाहा भयो ।”
अहिले साउदी कूटनीतिक कर्मचारीको मानव तस्करी प्रकरणमा जोडिएकी अर्की पात्र हुन्, बाग्लुङ घर भएकी जुना दमाई, ३० । जुनाकी एजेन्ट पनि गीताकै बुहारी कल्पना हुन् । क्यान्सरपीडित पतिको उपचारमा पैसा चाहिएकाले दुई छोराछोरीकी आमा जुना पनि जे जसरी हुन्छ, विदेश गएर पैसा कमाउने ध्याउन्नमा थिइन् । त्यही बेला आफ्नै जिल्लाको ताराखोला माइती भएकी कल्पनाले गाउँले केटीलाई विदेश पठाउने गरेको खबर सुनेकी थिइन् । उनले सोधीखोजी गरिन् र एजेन्ट दिदी भेट्न कल्पना काठमाडौँ पुगिन् । काठमाडौँबाट बर्दिया जाने बसको टिकट काटेर दिल्लीतिर उनै एजेन्टले पठाइदिइन् । “बर्दियाको कुन ठाउँ हो, थाहा छैन । एक जना मोटरसाइकल लिएर बसेका थिए, उनैले मलाई आधा घन्टा मोटरसाइकलमा राखेर सीमा कटाए अनि दिल्ली जाने बसमा सँगै आयौँ,” जुनाले सुनाइन् । दिल्लीमा असलम र अनवर भन्ने व्यक्ति भेटिए, उनीहरूले नै एक हजार साउदी रियाल दिने भनेर साउदी नागरिकको घरमा दिल्लीमा काम लगाइदिए ।
दिल्लीपछि बिचल्ली
यसरी एउटै साउदी मालिकको कामदार बनेर गीता र जुना दिल्लीको एउटा हवेलीमा भेटिए ।
हरियाणा गुडगाउँको क्याट्रियोना अपार्टमेन्ट कम्प्लेक्स, लीला एम्बिएन्स, एनएच–८ भित्रको दृश्य साँच्चिकै अकल्पनीय थियो । त्यो घरमा कामधन्दा निकै चर्को थियो । कामले सुत्ने फुर्सद पनि हुन्थेन । त्यहाँ बसेको डेढ महिनापछि एक दिन मालिकले गीता र जुना दुवैलाई साउदी अरेबिया लैजाने निधो भएको खबर सुनाएछन् ।
दुवैको बुझाइमा, साउदी जानु भनेको निकै लामो बाटो पार गर्नु रहेछ । किनभने, दिल्लीबाट मुम्बईसम्म रेलयात्रा, मुम्बईबाट कोलम्बोको प्लेन र त्यहाँबाट साउदी अरेबियाको जेद्दा भन्ने ठाउँ पुग्नै १५ दिनभन्दा बढी लागेको रहेछ । त्यस क्रममा मुम्बईसम्मको रेलयात्रामा वारिस भन्ने व्यक्ति साथै थिए भने कोलम्बोमा एक जना कालो वर्णका एजेन्ट विमानस्थलमा आइपुगेका रहेछन् । “खोइ कता हो, तिनै काला मान्छे बस्ने ठाउँमा हामीलाई एक साताजति राखियो । ती व्यक्तिले १३ वर्षदेखि एजेन्टको काम गर्दै आएको थाहा पायौँ,” जुनाले सुनाइन् । त्यहाँ उनीहरूले अरू केही नेपाली युवती पनि भेटे । त्यसपछि साउदीको जेद्दा पुर्‍याइए उनीहरू ।
जेद्दामा एक महिनाजति रहेपछि ती साउदी मालिक मजिद र उनका श्रीमती, छोराछोरीसँगै गीता र जुनालाई भारत फर्काइएको रहेछ । गुडगाउँको अपार्टमेन्टमा फर्किएपछि भने नसोचेको दिनदशा आइपर्‍यो । “कहिल्यै नसोचेको, नसुनेको र थाहा नपाएको छाडा काम गराए, हामी मर्नु न बाँच्नु भयौँ,” दुई नाति–नातिनाकी हजुरआमा समेत रहेकी गीताले भक्कानिँदै भनिन् । त्यसबीचमा उनीहरूलाई ठूलो गाडीमा राखेर कहिले आगरा त कहिले नैनीताल पुर्‍याइयो । न तलब, न त राम्रो खानपिन, न फोन सम्पर्क, न त स्वास्थ्यको हेरविचार ।
“दिनरात हामीलाई पाँच/सात जना पराइले नराम्रो काम गरिरहे,” अदालत, दूतावास, प्रहरी र पत्रकारसामु दुई नेपाली चेलीले बयान सुनाए । जीउ–ज्यानको आश मारिसकेका थिए उनीहरूले । धन्न, त्यही मजिदका घरमा केही दिन काम गरेर निस्केकी नीतू नामकी दार्जीलिङकी युवतीले उनीहरूका कुरा ‘माइती इन्डिया’को अफिसमा भनिदिएकी रहिछन् । जुना भन्छिन्, “त्यही भएर हामी बाँच्न सक्यौँ ।”
छापापछि ‘कूटनीतिक अग्राधिकार’
यी दुई नेपाली महिलाको कन्तबिजोग थाहा पाएर ‘माइती इन्डिया’ र त्यसका संस्थापक बालकृष्ण पाण्डेले दिल्लीस्थित नेपाली दूतावासमा हारगुहार गरे । दूतावासले पनि महिला बिचल्लीको यथार्थ सुनेर विदेश मन्त्रालय र गुडगाउँ प्रहरी उच्चायुक्तलाई अनुरोध–पत्र लेखिदियो, २१ भदौमा । गुडगाउँ, डीएलएफस्थित स्थानीय प्रहरी चौकीका सुरक्षाकर्मीको साथ–सहयोगमा लीला एम्बिएन्सको अपार्टमेन्टमा छापा पनि मारियो । धरपकडमा करिब १२ जना साउदी नागरिक र स्थानीय गार्डले प्रहरीमाथि पनि आक्रमण गरे ।
“त्यो अपार्टमेन्टमा कूटनीतिक अग्राधिकार लिएर बसेका साउदी दूतावासका काउन्सिलर रहेछन्,” नेपाली दूतावासका एक अधिकारीले भने, “उनैले नेपाली चेलीमाथि यो हुर्मत गराएका रहेछन् भन्ने पछि मात्रै थाहा भयो ।” दुई महिलाको उद्दार त भयो तर अदालतदेखि दूतावास, प्रहरी प्रशासनदेखि कूटनीतिक प्रावधानसम्मका अड्चनचाहिँ बाँकी नै छन् ।
बलात्कारसम्बन्धी उजुरीको खण्डमा अभियुक्त कूटनीतिक हैसियतको विदेशी नागरिक भए पनि एफआईआर(फस्र्ट इन्फर्मेसन रिपोर्ट) दर्ता गर्नमा कुनै कठिनाइ नरहेको भन्दै हरियाणा पुलिस सेवा अन्तर्गतको गुडगाउँ प्रहरीका उच्चायुक्त नवदीप सिंह भिर्कले विज्ञप्ति जारी गरेका छन् । “पीडक भनिएका व्यक्ति कूटनीतिक हैसियतमा छन् भन्ने जानकारी नरहेकै अवस्थामा एम्बिएन्स, क्याट्रियोना कम्प्लेक्स ई–ब्लकमा छापा मारिएको यथार्थ हो भने अबको अनुसन्धान क्रममा कूटनीतिक अग्राधिकारको प्रावधान ध्यानाकर्षण हुन सक्नेछ,” उच्चायुक्त भिर्कले भने ।
भियना अभिसन्धि अनुसार कूटनीतिक अग्राधिकार र सुरक्षाको प्रसंग सार्वजनिक भएपछि साउदी अरेबियाका भिसा काउन्सिलर मजिद २४ भदौ बिहान भागेर रियाद (साउदी अरेबिया) पुगिसकेका छन् भने दिल्लीस्थित साउदी राजदूत साउद मोहम्मद अलसती सबै आरोपलाई ‘प्रमाणविहीन’ भन्दै प्रतिवादमा उत्रिएका छन् ।
“हामीलाई यो घटनाका अभियुक्त साउदी हुन् वा कुन देशका नागरिक हुन् भन्नेसम्म पनि थाहा थिएन,” भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय भन्छन्, “प्रहरीले घटनाको अनुसन्धान गरेपछि यसबारेमा भारत सरकारले जे निर्णय लिनेछ, त्यही हाम्रा निम्ति मान्य हुनेछ ।”
यस प्रकरणलगत्तै भारतीय विदेश मन्त्रालयले नेपाली राजदूत उपाध्याय र साउदी अरेबियाका राजदूत अलसतीबाट पनि प्रारम्भिक जानकारी लिइसकेको छ । साउदी भिसा काउन्सिलरको बदनियतपूर्ण समाचारपछि छाएको कूटनीतिक बदनामी र अकर्मण्यतामा भारत सरकारले ‘पर्सना–नन–ग्राटा’ (अक्षम कूटनीतिक कर्मचारी) गठन गर्नै लागेको थाहा पाएर भिसा काउन्सिलरलाई रातारात साउदी फिर्ता गरिएको अनुमान छ ।
उद्दारपछि नेपाल पुगिसकेका दुई महिलाको अबको राहत प्रक्रिया वा न्याय पाउने प्रबन्धको बाटो अर्कै हुन सक्ला । तर, त्यसभन्दा अघि एक कूटनीतिक कर्मचारीले दिल्ली केन्द्रमा रहेर गरेको बदनियतपूर्ण कामको पुष्टि गराउनु आफैँमा एउटा चुनौती बनेको छ ।
कूटनीतिज्ञ मजिदका विरुद्ध यौन दुव्र्यवहारसहित आपराधिक दुराशय, जानाजानी कुटपिट, जबरजस्ती थुना, अप्राकृतिक सम्बन्धसहितका सातवटा धारामा अभियोग लगाइएको मुद्दाको अब ९० दिनसम्म छानबिन गर्ने अदालती सहमति प्रहरी प्रशासनले पाएको छ । त्यसपछि पनि अनुसन्धान र कारबाहीको टुंगो नलागेमा यो मामलामा अन्तर्राष्ट्रिय कानुन लागू हुन सक्ने कानुनविद्हरू बताउँछन् । तर, त्यसका लागि पनि पीडक भनिएका भिसा काउन्सिलरको कूटनीतिक हैसियत गुमिसकेको अवस्था हुनुपर्नेछ ।
(पीडित महिलाका नाम परिवर्तन गरिएका हुन् ।)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget